काठमाडौं ।। सन् २०२४ मा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गर्ने उद्देश्यले एसियाली क्षेत्रका आठ राष्ट्रले सोमबारदेखि नेपालका दुई रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।
यो आगामी T20 विश्वकपको लागि एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो। यस प्रतियोगिताबाट दुई देश आगामी टी–२० विश्वकपका लागि छनोट हुनेछन् । ICC T20 विश्वकपको नवौं संस्करण 2024 मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दैछ।
एसियाली क्षेत्र छनोट प्रतियोगिताको अन्तिम चरणमा नेपालसँगै संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुर सहभागी हुनेछन् । प्रतियोगिताका खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
Advertisement
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह बी मा बहराइन, हङकङ, कुवेत र युएई छन् ।
प्रारम्भिक चरणमा आ–आफ्ना समूहका चारै टोलीले एक–एक खेल खेल्नेछन् । यसपछि दुवै समूहबाट पहिलो र दोस्रो हुने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Advertisement
प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका दुवै सेमिफाइनल खेल १७ अक्टोबरमा हुनेछन् ।
Advertisement
सेमिफाइनल खेलमा सफलता हात पारेर फाइनल पुग्ने दुवै टोली सन् २०२४ मा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल अक्टोबर १९ मा कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।
छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चार खेल हुनेछन् । नेपाल र सिंगापुरबीचको खेल कीर्तिपुर मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेल बहराइन र युएईबीच मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
यस्तै तेस्रो खेल सोमबार कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । चौथो खेल हङकङ र कुवेतबीच मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
त्यसैगरी प्रतियोगिताको दोस्रो दिन पहिलो खेल कीर्तिपुरमा ओमान र सिङ्गापुर र दोस्रो खेल बहराइन र हङकङबीच मुलपानीमा हुनेछ । यी दुवै खेल बिहान ९ बजे सुरु हुनेछन् । सोही दिन तेस्रो खेल कीर्तिपुरमा नेपाल र मलेसिया र चौथो खेल कुवेत र युएईबीच मुलपनमा हुनेछ । यी दुवै खेल दिउँसो १ः१५ बजे सुरु हुनेछन् ।
त्यस्तै, समूह चरणको अन्तिम खेल नोभेम्बर १६ मा हुनेछ । अन्तिम दिनको खेलमा नेपालले कीर्तिपुर मैदानमा ओमानको सामना गर्नेछ भने हङकङले युएईको मुलपानीमा खेल्नेछ । दुवै खेल बिहान ९ बजे हुनेछन् । सोही दिन दिउँसो १ः१५ बजे कीर्तिपुरमा सिंगापुर र मलेसिया र मुलपानीमा बहराइन र कुवेतबीच खेल हुनेछ ।